२२ बैशाख
रौतहट जिल्लामा बुधवार थप ३० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । थप भएको ३० जना संगै सक्रिय संक्रमितको संख्या १९५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । ७३ जनाको परिक्षण गरिएको पिसिआरमा ३० जना पोजेटिभ देखिएको जिल्ला अस्पताल गौरले जनाएको छ ।
नया थपिएको संक्रमितहरुमा चंद्रपुर नगरपालिकामा १३ , गौर नगरपालिकामा ६ ,कटहरिया नगरपालिकामा ६ ,गरुडा र परोहा नगरपालिकामा दुइ दुइ जना तथा राजदेवी , फतुवा विजयपुर , इशनाथ ,माधव नारायण नगरपालिकामा एक एक जना थपिएको जिल्ला अस्पतालले जनाएको छ ।
बैशाख महिना देखि रौतहटमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिन थालेको छ । छिमेकी मुलुक भारतमा कोभिडको दोस्रो लहर तिब्र भएपछी नेपालमा संक्रमणको अवस्था दैनिक रुपमा उच्च हुदै गएको छ । सिमावर्ती क्षेत्र रौतहटमा खुल्ला सिमाना भएकोले दैनिक रुपमा भारत आवागमन गर्ने कार्य निरन्तर चलिरहेकोले संक्रमणको जोखिम झन बढेको छ ।
ग्रामिण भेगमा कोरोना भाइरसको विषयमा जानकारी हुने तथा नहुनेले पनि स्वास्थ्यको मापदण्डलाइ बेवास्ता गर्ने गरेको पाइएको छ । ज्वरो ,रुघा खोकी मौशम परिवर्तनको कारण भैरहेकोले कोरोना नभएको मानसिकता बेकेकोले लापरवाही गर्ने गरेको हुदा जनचेतना फैलाउन आवश्यक देखिएको छ ।
तिब्र रुपमा बढ्दै गइरहेको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न स्थानीय तहले गाउ गाउमा जनचेतना जगाउने प्रचार प्रसार गर्नु पर्ने सुझाव जानकारहरुको रहेको छ ।
शहरी क्षेत्रमा बसोबास गर्नेहरु सचेत भएपनि ग्रामिण भेगका बासिन्दाहरु अहिले पनि अनभिज्ञ रहेको देखिएको छ । विबाहको कार्यक्रम भोज भतेर गर्ने कार्य जारी नै रहेकोले यसलाई नियन्त्रण गर्न स्थानीय तहले प्रमुख भूमिका खेल्नुपर्ने आवश्यक रहेको छ ।
जिल्ला प्रसाशन कार्यालय रौतहटका अनुसार ५ जना फलोअपमा निगेटिभ देखिएको छ १ सक्रिय संक्रमित १९० जनामा १४२ पुरुष र ४८ महिला रहेको छ १ गौर नगरपालिका पहिलो स्थानमा रहेको छ भने चंद्रपुर नगरपालिका दोस्रो स्थानमा रहेको छ ।
जिल्ला प्रसाशन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गौर नगरपालिकामा ४९ , चंद्रपुर नगरपालिकामा ४६ र गरुडा नगरपालिकामा २० जना संक्रमित रहेको छ । फतुवा विजयपुर नगरपालिकामा १० , राजदेवी नगरपालिकामा ११ जना संक्रमित पुगेको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिम हेरेर जिल्ला स्थानीय तह तथा केहि सरकारी कार्यालयहरु समेत अति आवश्यक सेवा बाहेकका अन्य सेवा प्रदान गर्ने कार्य बन्द गरेको छ ।
नापी कार्यालय गौर , इलाका प्रसाशन कार्यालय गरुडाले पनि अन्य सेवा प्रवाह बन्द गरेको छ । भाइरस को अवस्था भयावह हुने खतरा बढिरहेको बेला सदरमुकाम गौर लगायत जिल्लाका अन्य प्रसिद्ध बजारमा सेवाग्राहीहरुको चहलपहलमा कमि आएको छ ।
बाटो हिड्नेहरुको संख्या पातलिदै गएको छ । गौर बस पार्कमा यात्रुको संख्यामा निकै कमि आएकोले सुनसान देखिन थालेको छ । दैनिक रुपमा यात्रुको चाप हुने बस पार्कमा लकडाउनको जस्तो अवस्था सृजना भैसकेको सार्वजनिक यातायातका चालकहरुले बताएका छन । संक्रमणको डरले उपस्थतिमा कमि आएको उनीहरुको भनाइ रहेको छ ।
जोखिम न्यूनीकरण तथा संक्रमण रोकथामको लागि आउदो शनिवार देखि निजि सवारी साधन आवागमनमा रोक लगाउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ । बजारमा संचालनमा रहेका होटेल , रेस्टुरेन्ट लगायतका भिडभाड हुने ठाउ बन्द गरिने जिल्ला संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
कोरोना भाइरसको दोस्रो लहर संगै बढ्दै गइरहेको संक्रमण रोकथामका लागि सक्रिय भूमिका खेल्दै आएका प्रमुख जिल्ला अधिकारी यादवले रौतहटमा छिटै सुविधा सम्पन्न आइसुलेशन वार्ड कोभिड अस्पताल संचालनमा आउने जानकारी दिएका छन ।
जिल्ला अस्पताल गौर , चन्द्रनिगाहपुर बाहेक प्रत्येक स्थानीय तहमा ५ देखि १० बेडको कोभिड अस्पताल निर्माण गर्ने कार्य जारी रहेको जानकारी दिदै यादवले संक्रमणकालिन अवस्थामा सतर्कता अपनाउन सवैमा अपिल गरेका छन । विना कारण घर बाहिर ननिस्कन सुझाव दिदै प्रजीअ यादवले मास्क र सेनिटाईजर्को नियमित प्रयोग गर्न आग्रह गरेका छन ।
लक डाउन हुने सक्ने अवस्थालाइ मध्यनजर गर्दै स्थानीयहरुले खाद्यान्न सामग्रीको भण्डारण गर्ने कार्यमा जुटिसकेका छन । बन्दाबन्दीको संमयमा दैनिक उपभोग्यको सामग्रीमा कृत्रिम अभाव हुन सक्ने भयले आगाडी नै चाहिने आवश्यक खाद्यान्न सामग्रीको व्यवस्थापन गर्न लागिएको हो ।
ज्याला मजदुरी गर्नेहरु खानको लागि जोहो गरिरहेको छ भने व्यापारी व्यवसायीहरुले लक डाउनमा चर्को मुल्यमा समान विक्री वितरण गर्ने लक्ष्य राख्दै भण्डारण गर्ने तर्फ अग्रसर भएको छ ।
बन्दा बन्दीको बेला हुने कृत्रिम अभावलाइ निस्तेज पार्न स्थानीय सरकार तथा स्थानीय प्रहरी प्रशासन समय मै चनाखो भै बस्नु पर्ने र बेला बेलामा बजार अनुगमन , व्यापारी ,व्यवसायीहरुको भण्डारण गरेको ठाउको निरीक्षण गर्ने पर्ने हुन्छ ।