रौतहट । बालमैत्री पूर्वसूचना प्रणाली सुदृढीकरण कार्यक्रम अन्तर्गत दुर्गाभगवती गाउँपालिका स्तरीय सरोकारवालाहरुलाई लक्षित अभिमुखीकरण कार्यक्रम गौरस्थित जि–मार्टको सभाहलमा सम्पन्न भएको छ ।
बालबालिकाको उत्थानशीलता अभिवृद्धि, सामाजिक तथा व्यवहार परिवर्तन र जलवायु कार्यको मोडेलिङका लागि सामुदायिक संलग्नता र सामाजिक परिचालन सुदृढीकरण उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको हो ।
पिपुल प्राेमोट सेन्टर (PPC) को आयोजनामा, युनिसेफको सहयोग तथा दुर्गाभगवती गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरुले बालबालिकाको हितका लागि स्थानीय तहमा सशक्त पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा युनिसेफका सहजकर्ता मधुसूदन गौतमले बालमैत्री पूर्वसूचना प्रणाली सुदृढीकरणका लागि स्थानीय सरकार, विद्यालय र समुदायबीचको सहकार्य अत्यावश्यक रहेको बताउनु भयाे । उहाँले जलवायु परिवर्तन र सामाजिक व्यवहारका कारण बालबालिकामाथि पर्ने जोखिम घटाउन यो पहल उपयोगी हुने उल्लेख गर्नु भयाे ।
मत्सरीका वडा अध्यक्ष डिके झाले बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तहले योजनाबद्ध रूपमा काम गरिरहेको बताउँदै अभिभावक, शिक्षक र समाजका सबै तहले सामूहिक भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयाे ।
प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले गाउँपालिकाले बालमैत्री नीति र कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमले स्थानीय कार्यदललाई थप क्षमता प्रदान गर्ने जानकारी दिनु भयाे ।
गाउँपालिका उपाध्यक्ष शिला देवीले बालबालिकाको हक हित र सुरक्षा प्रत्येक घर र समुदायको जिम्मेवारी भएको भन्दै सामाजिक सचेतना अभिवृद्धिबाट मात्र बालमैत्री वातावरण सिर्जना सम्भव हुने धारणा राखिन् ।
त्यसैगरी पिपुल प्राेमाेट सेन्टरका अध्यक्ष कमलेश मण्डलले कार्यक्रममा उठेका विभिन्न विषयकाे वारेमा चर्चा गर्दै बाल संरक्षण, पूर्वसूचना प्रणाली र सामुदायिक परिचालनका क्षेत्रमा सकारात्मक सिकाइ प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयाे।

बालबालिकाको अधिकार र सुरक्षालाई सुनिश्चित गर्न हामी सबैले साझेदारीको भावना राख्नुपर्छ । बालमैत्री पूर्वसूचना प्रणाली सुदृढीकरणले विपद्, हिंसा र जोखिमबाट बालबालिकालाई जोगाउने कार्यलाई सशक्त बनाउने युनिसेफका प्रतिनिधि अशोक झाले जानकारी दिनु भयाे । उहाँले जलवायु परिवर्तन र सामाजिक व्यवहारजन्य जोखिमहरुसँग जुध्न स्थानीय तहलाई प्राविधिक र व्यवहारिक सहयोग आवश्यक पर्ने बताउनु भयाे ।
सुरज मिश्राले संचालन गरेकाे कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, महिला समूह, विद्यालयका शिक्षक, बाल क्लबका सदस्य र स्थानीय पत्रकारहरूको सहभागिता रहेको थियो ।