१० अषाढ
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा झडप भएको छ । पार्टीबाट निस्कासित भएका निवर्तमान संघीय सांसद प्रभु साहको प्रमुख आतिथ्य मा हुन् लागेको मौलापुर नगरपालिकाको नगर अधिवेशनको विरोधमा उत्रेका स्थानीयहरु र प्रहरी विच दोहोरो झडप भएको हो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका नगर प्रमुख रिना कुमारी साहले नगरपालिकामा अनियमितता गरेको भन्दै प्रतिपक्षमा रहेका ५ दलीय गठबन्धनले चर्को नारावाजी गर्दा स्थानीय सरकार प्रमुखले भिड नियन्त्रण गर्न प्रहरीको सहयोग लिएपछि झडप भएको छ । भिड नियन्त्रण गर्नका लागि प्रहरी आस्रु ग्यासको समेत प्रयोग गरेको छ ।
नेपाली कांग्रेस ,नेकपा एमाले माधव नेपाल पक्ष , नेकपा माओवादी केन्द्र प्रचण्ड समुह ,जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव समुह र राष्ट्रिय जनमोर्चा नेपालका समर्थक तथा स्थानीय तहमा निर्वाचित आधा दर्जन वडा अध्यक्षहरु समेतले गएको आर्थिक वर्षको हिसाव किताव सार्वजनिक गर्नु पर्ने , अनियमिततामा संलग्न नगर प्रमुख माथि कार्यवाही गर्नु पर्ने लगायतका माग राख्दै नगर अधिवेशनको विरुद्धमा नारावाजी गर्दै प्रदर्शनमा उत्रेका थिए ।
हजारौको संख्यामा रहेका प्रदर्शनकारीहरुले मौलापुर बजारमा प्रदर्शन गरेका हुन् । विधि पुर्वक नगर सभा गर्नु पर्ने माग राख्दै प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको जनता समाजवादी पार्टी नेपालका युवा नेता लखिन्द्र यादवले आरोप लगाएका छन् । शान्तिपूर्वक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको उनले भने सत्ता र पावरको दुरुपयोग गरेको मेयर साह भ्रस्टाचारी हुन् ।
प्रहरीले फायर गर्दा करिव १५ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताउदै यादवले घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने गम्भीर रुपमा घाइते भएका केहि प्रदर्शनकारीलाइ विरगंज पठाउने तयारी भैरहेको जानकारी दिएका छन् ।
५ दलीय गठवन्धनले पारदर्शी रुपमा नगर सभा हुनु पर्ने माग राख्दै केहि दिन पहिला संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । नगर प्रमुख रिना साहले बुधवार विकास निर्माणको कार्यमा अवरोध पुर्याई रहेको भन्दै नेकपा माओवादी केन्द्रको झन्डा सहित प्रदर्शन गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थति नियन्त्रण गर्नको लागि सुरक्षाकर्मीको तर्फबाट १४ राउण्ड हवाई फायर र २३ राउण्ड टीअर ग्यास प्रहार गरिएको जानकारी बताउनु भएको छ । झडपमा २ जना सुरक्षाकर्मीका जवान सामान्य घाइते भएको उनले बताएका छन् ।
व्यापक रुपमा प्रहरी परिचालन गरिएकोले स्थति नियन्त्रणमा आउने अवस्थामा रहेको छ । नगर प्रमुखको विरुद्धमा ६ जना वडाध्यक्ष , सदस्य समेत रहेका छन् । पथरा बुधराम , मर्यादपुर , सोनारनियाका स्थानीयहरू नगरप्रमुख र प्रभु साहको विरुद्धमा उभिएका छन् ।
बाहिर स्थानीयहरू विच झडप भइरहदा भित्र नगर प्रमुख साहले नगर अधिवेशन सम्पन्न गरेको छ ।