रौतहट । चैत ०५ । चैत ७ गतेबाट हुन लागेको यस वर्षको माध्यमिक शिक्षा(एसईई) परीक्षामा रौतहटबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु सहभागी हुने भएको छ । २०८१ सालको एसईई परीक्षामा सधारण तर्फको नियमित र प्राविधिक तर्फको नियमित तथा ग्रेड वृद्धि तर्फका गरी १० हजार ४ सय ८४ जना छात्रछात्राहरु सहभागी हुने भएको शिक्षा विकास तथा समन्वय ईकाई रौतहटले जनाएको छ ।
रौतहट जिल्ला भरीमा रहेको १ खुला सहित ९९ वटा सामुदायिक विद्यालय, २० वटा संस्थागत विद्यालय र ८ वटा प्राविधिक विद्यालय गरि १ सय २७ वटा विद्यालयबाट एसइइ दिने छात्रछात्राहरुको लागि जिल्ला भरिमा ४० वटा परिक्षा केन्द्र कायम गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका अनुसार ४० वटा परीक्षा केन्द्रमा संचालन हुने एसईई परिक्षामा साधारण नियमित तर्फ ५ हजार १ सय ७२ जना छात्र तथा ४ हजार ७ सय ६२ जना छात्रा परिक्षार्थी रहेको छ भने प्राविधिक तर्फ १ सय ६८ जना छात्र तथा ९७ जना छात्रा गरि जम्मा ५ हजार ३ सय ४० छात्र तथा ४ हजार ८ सय ५९ जना छात्रा र ग्रेड वृद्धि तर्फ २ सय ८५ जना विद्यार्थी गरि कुल १० हजार ४ सय ८४ जना विद्यार्थीहरु एसईई परिक्षामा सहभागी हुने ईकाइ प्रमुख विरेन्द्र जंग थापाले जानकारी दिनु भयो ।
चैत ७ गते विहिवार देखि सुरु हुने एसईईको परिक्षाको लागि रौतहटमा ४० वटा परिक्षा केन्द्रको लागि ४० जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ५०६ जना निरीक्षक, ८८ जना परीक्षा सहायक,१९५ जना कार्यालय सहयोगी र हरेक परिक्षा केन्द्रमा १५ जनाको दरले करिब ६०० जना सुरक्षाकर्मी परिचालन हुने इकाइले जनाएको छ । परिस्थित अनुसार सुरक्षाकर्मी परिचालनमा घटबढ हुन सक्ने बताइएको छ ।
परिक्षालाई मर्यादित, अनुशासित, पारदर्शी रुपमा संचालन गराउन र अनावश्यक रुपमा परिक्षा केन्द्रमा अमर्यादित कार्य गराउने विरुद्ध कारवाही हुने इकाइ प्रमुखले बताउनु भयो । परिक्षा केन्द्रमा खलल पुर्याउने तत्वहरुलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले समातेर कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासन कटिबद्ध रहेको हुँदा परिक्षालाई सभ्य एवं मर्यादित बनाउने सबैको जिम्मेवारी हुने भएकोले सबै जना मिलेर परिक्षालाइ मर्यादित बनाउन वहाँले अपिल समेत गर्नु भयो ।