रौतहट । बिलबिजक भन्दा बढी सर–सामान लोड गरेको ट्रकसहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
रौतहट प्रहरीले चेकजाँच गर्ने क्रममा शुक्रवार विहान करिब ४ बजेको समयमा बिलबिजक भन्दा बढी सर–सामानहरु लोड गरि वीरगंजबाट सर्लाहीतर्फ जाँदै गरेको ट्रक पक्राउ गरेको हो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.४ ट्राफिक कार्यालय अगाडीबाट जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटीएको प्रहरी टोलीले उक्त ट्रकलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विशेष सूचनाको अधारमा पुगेको प्रहरीले बिरगंजबाट सर्लाही तर्फ जादै गरेको ना ७ ख ७६७६ नं.को मिनी ट्रकलाई रोकी बिलबिजक चेकजाँच गर्दा उक्त ट्रकमा बिलबिजक भन्दा बढीको विभिन्न किसिमका किराना तथा कपडाहरु लोड रहेको हुँदा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नाउब उपरीक्षक दिपककुमार रायले जानकारी दिनु भयो ।
ट्रक चालक सर्लाही जिल्लाका हरिवन नगरपालिका वडा नं. ९ बस्ने अन्दाजी ३० वर्षिय जय दास समेतलाई नियन्त्रणमा लिएको थियो ।
अन्दाजी करिब ४५ लाख ५६ हजार बराबरको किराना सर–सामानहरु र कपडाहरु लोड गरिएको मिनी ट्रक र ट्रक चालकलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी रायले बताउनु भयो ।
◾ स्राेत : https://ehimalayatimes.com/2025/06/350552/