रौतहट २९ पौष
रौतहट जिल्लाको गौर नगरपालिका र ईशनाथ नगरपालिकाको विचमा रहेको लालबकैया नदीमा टिकुलिया घाट नजिक ह्यूम पाइप हालेर डाईभर्सन निर्माण कार्य शुरू गरिएको छ । गौर नगरपालिका वड़ा नम्बर चार मा रहेको उक्त घाटमा ईशनाथ नगरपालिकाले नदीमा डाईभर्सन निर्माण गर्ने लागेको हो ।
दुवै तहको सिमाना रहेको सो घाटमा विगत ४ वर्ष देखि निर्मणाधीन रहेको पक्की पुलको निर्माण कार्य अधुरो रहेकोले अवस्थामा आवागमन सहज बनाउने उदेश्यले ह्युमपाइप हालेर डाईभर्सन बनाउन लागेको नगर प्रमुख संतोष मेहताले बताएका छन ।

५ किलो मीटरको दुरीमा रहेको सदरमुकाम आऊंन २० किलोमीटरको लामो दुरी तय गर्नु पर्ने बाध्यता डाईभर्सनले कम हुने मेयर मेहताले जनाए । पुल निर्माणको जिम्मा लिएका पप्पू कंस्ट्रक्शनले समयमा कार्य नगर्दा स्थानीयलाइ सस्ती भोग्नु परेको समस्या रहेको छ । पटक पटक कार्यवाही गर्न र पुलको निर्माण कार्य समयमा संपन्न गराउन स्थानीय प्रसाशन र केंद्रीय सरकार तथा विकास समितिका सभापति कल्याणी खडका समेतलाइ आग्रह गर्दा पनि कुनै चासो नदेखाइएको गुनासो गरे ।
इमरजेंसी भएको बेला सदरमुकाम आऊंन कठिनाई भैरहेकोले हलुका सवारी साधन सहज रुपमा आवागमन गर्नको लागि नगरपालिकाको निर्णय अनुसार ह्युमपाईप लगाएर डाईभर्सन बनाउन लागिएको निमित प्रमुख प्रसाशकीय अधिकृत नन्द किशोर गुप्ताले बताए ।
नगरपालिकाको आफ्नै उपकरण स्रोत साधन प्रयोग गरी डाईभर्सन बनाउन लागिएको बताउँदै प्रमुख प्रसाशकीय अधिकृत गुप्ताले बर्षातको मौसम नआएसम्म हलुका सवारी साधन मोटर साइकल , जीप , ट्रेक्टर , मारुती ,कार सुगम रुपमा ओहोरदोहर गर्न सकिने बताए । नगरपालिकाका उपमेयर हुस्न आराको समेत सहमतिमा डाईभर्सनको कार्य भैरहेको छ ।