चञ्चल कुमार झा
रौतहट । माघ १३ । हात्तीपाइले रोग नियन्त्रणका लागि सञ्चालन हुन लागेको आम औषधि सेवन अभियानबारे रौतहटमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रौतहट जिल्लाका ११ वटा स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध सामूहिक औषधि सेवन अभियान सञ्चालन गरिने तयारी गरिएको हो ।
हात्तीपाइले रोग नियन्त्रणका लागि सञ्चालन हुन लागेको आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन र सही सूचना प्रवाह सुनिश्चित गर्न सञ्चारकर्मीहरूसँग समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार स्वास्थ्य कार्यालय रौतहट गौरको तालिम हलमा जिल्लाका सञ्चारकर्मीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
दुइ हप्ता सम्म चल्ने हात्तीपाइले रोग नियन्त्रणका लागि सञ्चालन हुन लागेको आम औषधि सेवन अभियान अन्तर्गत रौतहटको ११ स्थानिय तह मध्ये ३ वटा औषधी सेवन अभियान सुरु भइ सकेको र अरु स्थानिय तहमा बुधवार देखि सुरु हुने हात्तीपाइले रोग नियन्त्रणका लागि सञ्चालन हुन लागेको आम औषधि सेवन अभियानका फोकल पर्सन पदमाकान्त झाले जानकारी दिनु भएको छ ।
अभियान सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै तथ्यपूर्ण र जनचेतनामूलक सूचना प्रवाहमा सहयोग गर्न स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख राजेश कुमार सिंहले संचारकर्मीहरुलाई आग्रह गर्नु भएको छ । हात्तीपाइले रोगविरुद्ध औषधि सेवन विभिन्न समस्या हुने गरेको हल्लामा कुनै सत्यता न रहेको बताउदै प्रमुख सिंहले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेमा रोग नियन्त्रण गर्न सकिने बताउनु भएको छ ।
कार्यक्रममा हातीपाइले रोगको अवस्थावारे प्रष्ट पार्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंकाबाट आउनु भएका डा. गोकर्ण दाहालले हात्तीपाइले रोग उन्मूलनका लागि आम औषधी सेवन अभियान अत्यन्तै प्रभावकारी र आवश्यक रणनीति रहेको बताउनु भएको छ ।
जोखिम भएका क्षेत्रमा बसोबास गर्ने सबै व्यक्तिले नियमित रूपमा औषधी सेवन गरेमा रोगको संक्रमण चक्र तोड्न सकिने भएकाले यस अभियानलाई सफल बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको डा. दहालले बताउनु भएको छ । विशेषगरी सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्े भएकोले सबै सञ्चारकर्मीहरुले आ आफ्नो स्तरबाट अभियान वारे सहि सुचना समाचार प्रवाह गरिदिनुहुन आग्रह गर्नु भयो ।
हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने परजीवीजन्य रोग रहेकोले समयमै औषधि सेवन गरेमा रोग नियन्त्रण गर्न सकिने भएकाले स्वास्थ्य निकायले तोकिएको समयमा सबै नागरिकलाई औषधि सेवन गर्न अनुरोध गर्दै आएको छ ।









