रौतहट । भदौ १३ । रौतहटको गौरमा बागमती जलाधार क्षेत्रमा अन्तरनिकाय समन्वय, स्रोत साझेदारी तथा सूचना संयन्त्रको परीक्षणको लागि छलफलमा आधारित एकदिने कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
सजग समाज परियोजनाको संयोजनमा केयर नेपालको आर्थिक सहयोग तथा इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडकसन (आईएचआरआर) र अभियान नेपालको सहकार्यमा संचालित पुर्बानुमानमा आधारित पुर्बकार्य अन्तर्गत, महिलाको आवाज़ तथा नेतृत्व–सजग समाज परियोजनाले आयोजना गरेको परियोजनाको कार्यक्रम संयोजक सुनिल कुमार साहले जानकरी दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह सञ्चार तथा कानून मन्त्रालय मधेश प्रदेश, प्रदेश तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, जिल्ला समन्वय समिति, जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय रौतहट, रौतहट जिल्लाका ९ वटा स्थानीय तहका प्रतिनिधि, रौतहट जिल्लाको बिषयगत क्षेत्र (क्लस्टर), सुरक्षा निकाय, स्वास्थ्यकर्मी, नेपाल पत्रकार महासंघ, राष्ट्रिय समाचार समिति, नेपाल रेडक्रस सोसाइटी लगायतका सरोकारवाला निकायको सहभागिता रहेको कार्यक्रममा नदी क्षेत्रमा बसोवास गर्ने बस्तीमा बाढी तथा डुबानबाट हुने क्षतिलाई कसरी रोक्ने, त्यसको लागि पुर्व तयारी कसरी गर्ने, बाढी आउनु पुर्व तथा डुबान भएमा कुन निकायसंग कसरी समन्वय गर्ने लगायतका विषयमा अभ्यास गराईएको थियो । कार्यक्रमलाई विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चका सदस्य सचिव डा. राजु थापा तथा सहाएक रथी जीत बहादुर गुरुङ्ग (अ.प्रा.) लगायतले सहजीकरण गर्नु भएको कार्यक्रम संयोजक साहले हिमालय टाइम्सलाई थियो ।
साहका अनुसार कृत्रिम घटना अभ्यास कार्यक्रमका सहभागीहरूलाई बिभिन्न समूहमा विभाजन गरी बाढी, डुबान, खडेरी, डेंगु र हैजा जस्ता पानीजन्य रोगको सम्भावित परिदृश्यमा कसरी शीघ्र प्रतिकार्य गर्ने भन्ने अभ्यास समेत गराइएको थियो भने तत्कालीन प्रतिकार्य, अन्तरनिकाय समन्वय, स्रोत साझेदारी र सूचना संयन्त्रको परीक्षणलाई प्रमुख प्राथमिकता दिइएको थियो ।
बागमती जलाधार क्षेत्रमा वर्षेनी दोहोरिने बाढी र डुबानले स्थानीयलाई ठूलो चुनौती दिने गरेको बताउदै यस्ता विपद् अभ्यासले विपद् व्यवस्थापनमा दक्षता बढाउन र जिम्मेवार निकायबीच सहकार्य अभिवृद्धि गर्न सहयोग पुर्‍याउने रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले बताउनु भयो ।
सुरक्षा निकायका प्रतिनिधिहरूले आपतकालीन अवस्थामा सुरक्षाकर्मीको अग्रपंक्तिको भूमिकालाई स्पष्ट पार्दै सबै सरोकारवालाहरु बिच प्रभावकारी सहकार्य अपरिहार्य हुनेमा जोड दिए्‌का थिए । सोही अवसरमा वक्ताहरुले समुदायस्तरमै स्रोत परिचालन, प्रारम्भिक द्रुत लेखाजोखा तथा सूचनाको शीघ्र प्रवाहलाई सबल बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा आइएचआरआरका कार्यकारी निर्देशक इ. सुरज गौतमले विपद् व्यवस्थापनमा जलाधार स्तरमा अन्तरनिकाय समन्वयलाई प्रवद्र्धन गर्दै बहुप्रकोपीय जोखिमका लागि सम्पूर्ण सरोकारवालाहरू तयारी अवस्थामा रहनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो। सहभागीहरूले सरकारी संयन्त्र मात्र पर्याप्त नहुने भन्दै स्थानीय तह, नागरिक समाज, सञ्चारकर्मी र स्वयंसेवी संस्थाको सहकार्य अपरिहार्य हुने निष्कर्ष निकालेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअयोध्या राय यादवले, पछिल्लो समयमा विपद् प्रतिकार्यको समयमा युवाहरुको भूमिका फोटो भिडीयो खिच्नमा मात्र सिमीत हुने गरेको र सबै पूर्वतयारी तथा प्रतिकार्यको जिम्मेवारी, सरकारको मात्र भएको भन्ने भाष्य सृजना भएको खतरा तर्फ इंगीत गर्दै विगतमा यस्ता पूर्वतयारी तथा प्रतिकार्य योजना समूदाय स्तरमै उपलब्ध श्रोत साधनको प्रयोग गरी रैथाने ज्ञान सिप प्रविधी प्रयोग गरी समूदायले नै विपद् ब्यवस्थापन गरेको उदाहरणहरु दिनु भयो । उहाँले यस्ता कृत्रिम घटना अभ्यासले विपद् ब्यवस्थापनमा सबैको भूमिका अपरीहार्य रहेको आभाष दिलाएकोमा आयोजकलाई बिशेष धन्यवाद दिनु भएको थियो ।