रौतहट । राैतहटमा ७३औँ विश्व कुष्ठरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम गर्दैै सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय रौतहटकाे समन्वयमा तथा द लेप्रोसी मिसन नेपालको आयोजनामा ७३औँ विश्व कुष्ठरोग दिवस विविध जनचेतनामूलक कार्यक्रमका साथ सम्पन्न भएको छ।
“कुष्ठरोग छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनाैती”(Leprosy is curable,the real challenge is stigma”) भन्ने मूल नारासाथ प्रभातफेरि, सडक नाटक तथा कुष्ठरोग सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै गाैरमा ७३औँ विश्व कुष्ठरोग दिवस मनाईएकाे छ ।
स्वास्थ्य कार्यालय रौतहटबाट सुरु भएको प्रभातफेरि सदरमुकाम गौरको घण्टाघर चाैक हुँदै नेपाल लजसम्म पुगेको थियो। प्रभातफेरि पश्चात् स्वास्थ्य कार्यालय नजिक पुगेर कुष्ठरोगबारे सन्देशमूलक सडक नाटक प्रस्तुत गरिएको थियो।
कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, शिक्षक, हेल्थ असिस्टेन्ट अध्ययनरत विद्यार्थीहरू, प्रहरी, पत्रकार, समाजसेवी, कृषि स्वयं सहेता समूहका पदाधिकारी तथा कुष्ठरोग प्रभावित बिरामीहरूको सहभागिता रहेको द लेप्राेसी मिसन नेपालका जिल्ला अधिकृत राेशन कुमार साहले जानकारी दिनु भयाे ।
सहभागीहरूले कुष्ठरोगप्रति रहेको सामाजिक विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
स्वास्थ्य कार्यालय गौरका कुष्ठरोग फोकल पर्सन राजकुमार दासका अनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म जिल्लामा १ सय ३५ जना कुष्ठरोगका बिरामी औषधि सेवन गरिरहेका छन्। समयमै पहिचान र नियमित औषधि सेवनले कुष्ठरोग पूर्ण रूपमा निको हुने साहले बताउनु भयाे।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले कुष्ठरोगबारे अझै पनि समाजमा गलत धारणा र डर कायम रहेकाले जनचेतना अभिवृद्धि अत्यन्तै आवश्यक रहेको बताउनु भयाे ।
“कुष्ठरोग सरुवा राेग भए पनि उपचार सम्भव र प्रभावकारी रहेकाे जानकारी दिदै प्रमुख सिंहले राेगभन्दा ठूलो समस्या बिरामीले भोग्नुपरेको सामाजिक विभेद रहेकाे बताउनु भयाे । यसलाई अन्त्य गर्न समुदाय, परिवार र सरोकारवाला सबैको साथ आवश्यक रहेकाे वहाकाे धारणा रहेकाे छ ।
वहाले स्वास्थ्य संस्थामा निःशुल्क उपचार उपलब्ध रहेको उल्लेख गर्दै शंकास्पद लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह समेत गर्नुभयो ।









