कलैया १० भदौ
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवनमा ढलान भएको सडक एक महिनामै पोखरीको रुपमा परिणत भएको छ ।
शहरी विकास तथा भवन निर्माण आयोजना अन्र्तगत ५० लाखको लागतमा ढलान भएको सडकमा एक महिनामै पानी जम्न थालेको हो । गत आर्थिक वर्षको अन्तिम समयमा हतार हतारमा बजेट सकाउनका लागि लागत ईष्टिमेट भन्दा बाहिर गएर गुणस्तरहिन काम गरेका कारण सडक भासिएर पानी जम्न थालेको हो । बघवनको सुरेन्द्र ठाकुर लोहारको घरदेखि पुस्तकालय सम्म जाने बाटोमा अहिले पुरै ढलान माथि पानी जमेको हो ।
फर्जी उपभोक्ता समिती बनाएर वडा अध्यक्ष सुरेन्द्र जैस्वालले आफै ढलान गराएका उक्त सडक चारैतिर बाट भासीएर बिचमै पानी जम्न थालेको छ । सडक ढलान हुँदाखेरी स्थानीयहरुले विरोध गरेपनि वडाअध्यक्ष जैस्वालले जबरजस्ती ढलान गराएका थिए ।
यसरी आएको थियो योजना
नेकपा पार्टी अलग अलग भएपछि नेकपा माओवादी छाडेर एमाले तीर ढल्केका प्रभु साह शहरी विकास मन्त्री बनेको समयमा प्रभु साह संगै माओवादी छाडेका बाराका तत्कालीन समानुपातिक प्रदेश सभा सदस्य मोहम्मद समिरलाई मन्त्रालय बाट २ करोडको योजना मन्त्री साहले दिएका थिए । पार्टीबाट निष्काशीत भएर बेरोजगार भएका प्रदेश सभा सदस्य मोहम्मद समिरले मन्त्री साहले दिएको योजनालाई नै कमाई खाने भाँडो बनाए र १४ नम्बर वडाका वडाध्यक्ष सुरेन्द्र जैस्वाल र स्थानीय वकिल यादवलाई १ करोड ५० लाखको योजना १० देखि १५ प्रतिशत कमिसन लिएर विक्रि गरे भने बाकिको ५० लाखको योजना अर्का ठेकेदार संग विक्री गरे । यता कमिसन दिएर योजना खरिद गरेका वडा अध्यक्ष जैस्वाल र स्थानिय यादवले आफ्ना आसेपासेलाई समितीमा राखेर फर्जी उपभोक्ता समिती बनाएर १ करोडको ग्रेभलको काम तथा ५० लाखमा सडक ढलानको काम गरेका थिए । कमिसन लिएर कम काम मै भुक्तानी गराईदिने प्रदेशसभा सदस्य समिरको प्रलोभनमा परेर वडाध्यक्ष जैस्वाल र स्थानीय यादवले गुणस्तरहिन बाटो ढलान गरेका हुन् । माओवादी छाडेका मोहम्मद समिर, ज्वाला साह, कुन्दन कुश्वाहा लगायत पाँचजना प्रदेश सभा सदस्यलाई पार्टीले कार्वाही गरि निष्काशन गरेपछि गत आर्थिक वर्ष ०७७।०७८ को अन्तिम समयमा तत्कालिन शहरी विकास मन्त्री प्रभु साहले पहुंचको आधारमा सिधै बजेट शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय वीरगंजमा पठाएका थिए । सिधै बजेट पाएका अधिकांश प्रदेशसभा सदस्यहरुले मोहम्मद समिर जस्तै योजनाहरु ठेकेदार मार्फत कमिसन लिएर विक्री गरेका थिए ।