१७ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।
शनिबार काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रुपमा देखा परिरहेको बताए । ‘लागुऔषध अत्यन्त चुनौतीका रुपमा देखिएको छ, युवाहरुमा नकरात्मक असर पारेको छ’, गृहमन्त्री लेखकले भने, ‘सरकार, प्रहरीकोको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।’
लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्न जरुरी रहेको बताए । ‘लागुऔषध प्रयोगकर्ताको जीवन समाप्तीतर्फ गएकै छ । समग्र परिवार नै चिन्ता र पीडामा जान्छ । यसले अरु अपराधको पनि वृद्धि गरेको छ’, उनले भने, ‘समाजमा विविधखालको अपराध वृद्धि भइरहेको छ । धेरै अपराधको जगमा लागुऔषध छ ।’
लागुऔषधविरुद्धको महाअभियान देशव्यापी रुपमा चलाउन जरुरी रहेको भन्दै उनले विद्यालय स्तरसम्म महाअभियान पुर्याउन आवश्यक रहेको बताए । ‘महाअभियानलाई प्रत्येक जिल्ला पालिका र टोल, विद्यालय क्याम्पससम्म जोड्नुपर्छ । यदि समयमै नियन्त्रण गरेनौ भने दश/पन्ध्र वर्षमा एउटा पुस्ता नै नराम्रोसित प्रभावित हुने खतरा देखिराख्याछु’, उनले भने, ‘जुन ढंगले लागूऔषधको ओसारपसार, भण्डारण र प्रयोग भइरहेको छ । त्यसले आगामी दश पन्ध्र बर्षमा भयाभहवस्थिती ल्याउने अवस्था देखिरहको छु ।