रौतहट । फाल्गुन १७ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष रामदेनी मुखिया बिनको निधन भएको प्रति नगरपालिकाले एक दिन शोक विदा दिएको छ ।
वडाअध्यक्ष मुखियाको सम्मान तथा सम्झनामा नगरपालिका स्तरीय निर्णय अनुसार माधवनारायण नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्था तथा विषयगत शाखाहरुमा आइतवार एक दिने बिदा दिने निर्णय भएको नगर प्रमुख बैजनाथ प्रसाद यादबले बताउनु भयो ।
नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालको लागि निर्वाचित माधवनारायण नगरपालिका वडा नम्बर ४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेनी मुखिया विनको करिब ६५ वर्षको उमेरमा शनिवार बिहान करिब ७ः१५ बजेको समयमा आफ्नै निवासमा असामायिक निधन भएको थियो ।
वडाअध्यक्ष मुखिया माधवनारायण नगरपालिकाका लागि गर्नु भएको उल्लेखनिय योगदानको स्मरण गर्दै पिडाको यस घडीमा दिवंगत आत्माको चिर शान्ती तथा शोकाकुल परिवारमा धैर्यधारणको कामना गर्दै भावपुर्ण श्रदाञ्जली सहित सम्बेदना व्यक्त गर्दछौँ, नगरपालिका द्वारा जारी विज्ञप्तीमा उल्लेख रहेको छ ।
विगत लामो समय देखि क्यान्सर रोगसंग लड्दै आएका वडाअध्यक्ष मुखियालाइ उनका छोरा राम कलेबरले विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए ।
नेकपा माओवादी केन्द्रबाट २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा उनी माधवनारायण नगरपालिका वडा नम्बर ४ बिसुनपुर्वा मानपुरको वडाअध्यक्षमा लगातार दोस्रो कार्यकालको लागि निर्वाचित भएका थिए । २०७४ को स्थानिय तहको निर्वाचनमा पनि उनी माओबादीबाट नै वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
वडाअध्यक्ष मुखियाको निधन प्रति दुःख व्यक्त गर्दै दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले, माओवादी पार्टीमा लामो समयदेखि आबद्ध रही कर्तव्यनिष्ठ कार्यकर्ताको रुपमा काम गर्दै आएका वडा अध्यक्ष मुखियाको निधनले माओवादी पार्टीलाई समेत अपूर्णीय क्षती पुगेको बताउनु भयो ।