रौतहट । दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलाहरुको लागि निशुल्क “ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम” सुरु भएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिकाले वडामै पुगेर गर्भवती महिलाहरूको भिडियो एक्सरे ( अल्ट्रासाउण्ड) सहितको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।
गाउँपालिकाले सुरु गरेको “ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम” अन्तर्गत पालिका भित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो ।
दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै “ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम” कार्यान्व्यन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन गरिरहेको बताउनुभयो ।
गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्यमा कुनै किसिमको असर नपरोस उद्धेश्यका साथ सम्बन्धित वडामै गएर वडामा बसोवास गर्ने गर्भवती महिलाहरुको भिडियो एक्सरे सहितको स्वास्थ्य जाँच भइ रहेको स्वास्थ्य संयोजक दिनेश महतोले जानकारी दिनुभयो ।
“ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम” सुरु भएपछि गाउँका गर्भवती महिलाका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको उनले बताए । प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनेसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सकिने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ बडहर्वा पारीबाट शनिवार देखि सुरु भएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रममा दुइ दिनमा ४५ जना गर्भवती महिलाहरुले सेवा लिएको बताइएको छ । ४५ जनाको भिडियो एक्सरे गर्दा एक जना गर्भवर्ती महिलाको गर्भमा रहेको शिशु उल्टो रहेकोले आवश्यक सल्लाह समेत दिइएको स्वास्थ्य संयोजक महतोले जानकारी दिनु भयो ।
गाउँमै भिडियो एक्सरे सहितको जाँच सुरु भए पछि गर्भवती महिलाहरुलाइ अल्ट्रासाउन्ड गर्नकै लागि टाँढा जाने समस्या समाधान भए पछि गाउँवासी हर्षित भएका छन् ।
https://ehimalayatimes.com