रौतहट । दलित नेता राजकुमार दासले अपहरण र सामूहिक बलात्कारमा परेकी सिरहाकी रिंकु सदाकाे न्यायका लागि आवाज उठाउनु भएकाे छ ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीय किशोरी रिंकु कुमारी सदाको न्यायका लागि रौतहटमा गरिएको दबाब प्रदर्शनलाइ सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी दलित विकास समितिका मधेस प्रदेश सदस्य राजकुमार दास तत्माले सामुहिक बलात्कारमा परेकी रिंकु सदाको मृत्यु पनि शंकास्पद रहेकोले सत्य तथ्य अनुसंधान गरि छिटो भन्दा छिटो सदालाई न्याय दिलाउनको लागि सरकारसंग जोडदार माग गर्नु भएको छ ।
अपहरण र सामूहिक बलात्कारमा परेको घटना मिलाउनका निम्ति गाउँमै भएको पञ्चायती पछि रिंकु आफ्नै घरमा गत माघ ३० गते साँझ, संकास्पद झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
रिंकुको न्याय र दोषीमाथि कारबाहीको माग गर्दै रौतहटमा सोमबार दलित संघर्ष समिति रौतहटले प्रदर्शन गरेको हो । रिंकुको न्यायको लागि रौतहटमा मात्रै न भएर अन्य जिल्लामा समेत न्यायको लागि दबाबमुलक कार्यक्रमहरु भइरहेको छ ।
दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल रामले, राज्यको गैरजिम्मेवार रबैयाका कारण दलितहरु माथि अन्याय, अत्याचार, जातीय भेदभाव तथा बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गइरहेकोले दोषीलाई कडा भन्दा कडा कार्यवाही नभए चुप न बस्ने बताउनु भयो ।
देशमा ऐन र कानुन हुदा पनि सम्बन्धित निकायको उदाशिन्ताका कारण यस्ता जघन्य अपराधहरुलाई पञ्चायतीको माध्यमले सुल्झाउने कुप्रथा अझै पनि जीवित रहेको अध्यक्ष रामको भनाइ रहेको छ । कुनै घटनालाई गाउँमै मिलाउने (पञ्चायती गर्ने )प्रवृत्ति अझै पनि अन्त्य हुन नसकेकोले पिडितहरुले न्याय पाउन नसकेको उहाँले बताउनु भयो ।
सदरमुकाम गौरको मधेसी क्रान्ति चौक (घणटघर) देखि सयौँको सहभागितामा विभिन्न नारा लगाउदै सुरु भएको दबाब मुलक प्रदर्शन जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रसाशन कार्यालय हुँदै गौर भन्सार सम्म पुगेर पुनः मधेसी क्रान्ति चौकमा आएर कोण सभामा परिवर्तन भएको दलित अगुवा राजेश पासवानले जानकारी दिनु भयो ।
दबाबमुलक प्रदर्शनमा दलित अगुवा मटुक पासवान, दलित अधिकारकर्मी पुनित राम,मुसहर संघका जिल्ला अध्यक्ष बिनोद माझि सहित दलित अधिकारकमी सत्यनारायण राम,युवा नेता उदय नरायण राम,अवधनरायण राम,नाथुराम परियार,शिवशंकर पासवान,सुब्बा साहेब हजारी,नथुनी माझी,बिश्वनाथ राम र रामानन्द माझी लगायत जिल्ला भरिएकै सयौं दलित सामाजिक अभियन्ता तथा दलित जन समुदायको सहभागिता रहेको थियो ।
रिंकु सदा गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्कँदा स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । घटनालाई पञ्चायती बसेर गाउँमै ढाकछोप गर्ने प्रयास गरिएको थियो ।