९ कार्तिक
महिला तथा बालबालिकाको अधिकार तथा लैंगिक विभेद विरुद्धको अभियानमा कलम चलाउने रौतहट जिल्लाका ७ जना पत्रकारलाइ मंगलवार गौरमा आयोजित एक कार्यक्रम विच सम्मानित गरिएको छ ।
इस्लामिक रिलिफ क्यानाडाको सहयोगमा संचालित समान र न्यायिक समाजको लागि लैंगिक हिंसा न्यूनीकरण परियोजना अन्तर्गत ग्रामिण विकास केन्द्र नेपाल रौतहटले विभिन्न संचार मध्यमा कार्यरत संचारकर्मीहरुलाई नगद सहित सम्मान पत्रबाट सम्मानित गरेको हो ।
सदरमुकाम गौर स्थित रौतहट उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मान कार्यक्रममा नेपाल टेलिभिजनका प्रदेश २ प्रतिनिधि एवं नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष शैलेन्द्र गुप्ता , कान्तिपुर दैनिकका शिव पुरी , रातोपाटीका संजय कुमार मिश्र , द हिमालयन पोस्टका प्रभात कुमार झा , अन्पूर्ण पोस्ट दैनिकका फनिदेव महत , जनकपुर टुडे राष्ट्रिय दैनिकका रौतहट प्रतिनिधि राकेश कुमार यादव र राजदेवी एफ एमका विना राउत श्रीवास्तवलाइ प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समितिका सचिव गोविन्द चौलागाईले गम्छा ओढाएर सम्मान पत्रबाट सम्मान गरेका हुन ।
कार्यक्रमको सम्वोधन गर्दै सचिव चौलागाईले उपत्यका बाहिर बसेर पत्रकारिता गर्दै आएका पत्रकारलाइ पारिश्रमिकको समस्या भैरहेको बताउनु भयो । नेपाल पत्रकार महासंघले विभिन्न संचारमाध्यम सित श्रमजीवी ऐन कार्यन्वयन गराउने विषयमा छलफल शुरु गरेकोले छिटै नै समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।
सचिव चौलागाईले अघि थपे तराईका जिल्लामा काम गर्ने संचारकर्मीलाइ सुरक्षाको ठुलो चुनौती रहेको थपे । समाचार लेख्दा सत्य तथ्य र विश्वासिलो स्रोत पुर्याएर लेख्न सुझाव दिदै प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार अचार सहिंताको ख्याल गर्न जोड दिए ।
पत्रकारित पेश मर्यादित पेश र सामाजिक न्याय , राष्ट्र विकासको लागि संवाहक समेत भएकोले कलम चलाउदा आफ्नो दायित्व बुझ्नु पर्ने सुझाव उहाको रहेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले पत्रकारिता समाज परिवर्तनको संवाहक र राज्यको नीति नियमको जनतालाइ जानकारी गराउने महत्वपूर्ण माध्यम रहेको बताए । मुलुकको परिवर्तन र विकासमा संचार जगतको भूमिका अतिनै महत्वपूर्ण रहेकोले अवाज विहिनको आवाज बन्ने प्रयास गर्नु पर्ने धारणा राखे ।
उहाले राज्यका सम्वन्धित निकाय र पत्रकारिता एक अर्काको पुरक रहेको बताए । राज्य पक्षबाट भएको कमी कमजोरीलाइ आम नागरिक समक्ष र आम नागरिकको समस्या राज्य समक्ष पुर्याउने कार्य पत्रकरिता भएकोले सत्य तथ्यलाइ बाहिर ल्याउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको सहकार्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघले गठन गरेको छनौट समितिका संयोजक बरिष्ठ पत्रकार विनय कुमार लालदासले गरेको सिफारिसको आधारमा आयोजक सस्थाले सम्मान गरेको थियो ।
पारस हुसैनको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य शैलेन्द्र झा ,नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी , नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झा , सशस्त्र प्रहरीका ससस्त्र प्रहरी उपरीक्षक सुरज बहादुर सेन ओली ,राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मुकुन्द बहादुर खड्का नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरिया लगायतका उपस्थति रहेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष धर्मेन्द्र कुमार साहले संचालन गरेका थिए ।
यसै विच अन्पूर्ण पोस्टका फणिदेव महत र रातोपाटीका संजय मिश्रले पुरस्कार पाएको रकम दलित बाल बालिकाको पढाइको लागि सहयोग दिने घोषणा गरेका छन ।