२३ बैशाख
रौतहट जिल्लामा विहिवार ३६ जना नया कोरोना भाइरसको संक्रमित थपिएको छ । जिल्ला अस्पताल गौरमा ९४ जनाको स्वावको नमुना पिसिआर परिक्षण गर्दा ३६ जनामा संक्रमण पुस्टि भएको हो । ५८ जनाको रिपोर्ट निगेटिभ देखिएको जिल्ला अस्पताल गौरले जनाएको छ ।
रौतहटमा फलोअपमा ११ जना निको भएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । कोभिद १९ को दोस्रो लहरको तिब्र संक्रमणको कारण अहिले सम्म ९ जनाको मृत्यु भैसकेको जिल्ला प्रसाशन कार्यालयले सार्वजनिक गरेको दैनिक विवरणबाट पुष्टि भएको छ ।
मृत्यु हुनेमा गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीका जगदीश बैठा , दुर्गा भगवती गाउपालिका ५ का बाल किशोर सिंहको जिल्लामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भइ जिल्लामा सदगत गरिएका मा माधव नारायण नगरपालिका ७ फुलवरियाका ५० वर्षीय कृष्णा देवी साह ,गढिमाइ नगरपालिका ३ पर्साका ५० वर्षीय विनोद कर्ण , दुर्गा भगवती ३ मत्सरीका ५४ वर्षीय पवन देवी साह ,गौर नगरपालिका १ का ५४ वर्षीय चन्द्रिका साह कानु फतुवा विजयपुर नगरपालिका ८ का ७० वर्षीय राजेन्द्र प्रसाद यादव ,गढिमाइ नगरपालिका ४ सुन्दरपुरका ३६ वर्षीय प्रकाश साह र कटहरिया नगरपालिका ६ का ६० वर्षीय सोनिया देवी रहेको प्रहरीले जनाएको छ ।
बैशाख महिना देखि शुरु भएको कोरोना भाइरसको संक्रमणवाट जिल्लामा संक्रमित हुनेको संख्या २१५ पुगेको छ । रौतहटमा संक्रमणको अवस्था दिन प्रति दिन बढ्दै गएकोले नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालयले बैशाख २४ गते शुक्रवार राति १२ बजे देखि लागु हुने गरि बैशाख ३१ गते सम्म निशेधाज्ञा आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव द्वारा जारी गरिएको आदेशमा औषधि तथा औषधि जन्य पसल ,पेट्रोल पम्प ,उद्योग कलकारखाना , अन्य व्यापार , स्वास्थ्य मापदण्ड सहित सैलुन , खाद्यान्न , फलफुल ,तरकारी ,दुध डेरी ,ग्यास पसल खुल्ला राख्ने निर्देशन दिइएको छ भने सार्वजनिक यातायात बस ,टेम्पु ,ट्याक्सी ,जिप ,निजि सवारी साधन , होटेल , रेस्टुरेन्ट , व्युटी पार्लर , जिमखाना , शैक्षिक संस्था , ट्युसन र हात बजार बन्द रहने आदेश जारी गरिएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
विबाह ब्रत्बंधन लगायतका कार्यमा डिजे प्रतिबन्ध लगाइएको छ । विबाहमा १५ जनालाइ सहभागी गराउने छुट दिइएको छ । सभा ,गोष्ठी , सेमिनार ,शिलान्यास , उद्घघाटन , मेला , नाच , तालीममा प्रतिबन्ध लगाईएको छ ।