राकेश यादव , १९ कार्तिक
बम काण्डको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा पूर्व मंत्री महमद आफताव आलमको थुन्छेक प्रक्रिया शुरू भएको छ ।
११ जना माथि अभियोग लगाई जिल्ला सरकारी वकील कार्यालयले अभियोग पत्र साथै रौतहट जिल्ला अदालतमा पेश गरेका आलमको व्यान लिने कार्य प्रारम्भ भएको हो । जिल्ला न्यायधीश दीपक ढकालको इजलासमा मुद्दा परेकोले सम्पूर्ण कार्यवाही त्यही इजलासबाट हुने भएको छ ।
मिसिल अध्यन गर्नको लागि समय लागेकोले आलमको व्यान लिने कार्यमा मंगलवार ढिलाई भएकोले २० मिनेटको करीवमा शुरूवाती व्यान लिने कार्य भएको जिल्ला अदालतले जनाएको छ । पहिलो दिन परिचय सम्मको व्यान सकिएको छ ! बुधवार देखि व्यान लिने कार्य फेरी शुरू हुने छन । व्यान सकिने लगतै थुन्छेकको बहस शुरू गरिने छन ।
२०६७ चैत्र २७ गते भएको बम विस्फोटमा घाइते भएका बम बनाउनेहरुलाइ जिउदै ईटा भट्टामा हालेको भनी लगाइएको आरोपमा अनुसन्धानको क्रममा सांसद आलम गएको असोज २६ गते पक्राउ परेको थियो ।
जिल्ला सरकारी वकील कार्यालयले तीन वटा कसूर अपराध सहित ११ जना माथि मुद्दा दर्ता गराएको छ । १० जना माथि कर्तव्य ज्यानको अभियुक्त बनाइएको छ भने एक जनालाइ घटना हेरेर लुकाउने प्रयास गरेको भनी मतियारको रुपमा गौरी शंकर साहलाइ आरोपित बनाइएको हो ।
सरकार पक्ष र प्रतिबादी पक्ष गरी दुइ दर्जन कानून व्यवसायी रहेको उक्त मुद्दामा व्यान पछि अभियोजन पक्षले अनुसन्धानको क्रममा संकलित सबुद्ध प्रमाणले दोषी देखिएको आलमलाइ थुनामा राखी मुद्दाको पुरपक्ष गर्नु पर्ने मांग राख्दै बहस गर्ने छन भने अभियुक्तको पक्षमा रहेका कानून व्यवसायीहरुले अहिले संकलित प्रमाणबाट पक्राउ परेको आरोपित कसूरदार नदेखिएकोले पछि बुझ्दै जादा ठहरे बमोजिम हुने गरी हाललाइ साधारण तारीखमा राखेर मुद्दाको बाकि कार्यवाही गर्नु पर्ने इजलास समक्ष आग्रह गर्ने छन । आलमको लागि जिल्ला अदालत बारिपरी व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ भने अदालतको आदेश सुन्न उत्सुक रहेका समर्थकहरु दिन भरी अदालतको छेउमा बस्ने गरेको देखिन्छन ।
न्यायपालिकामा सुनवाईको क्रममा रहेको मुद्दामा जून सुकै आदेश आएपनि त्यसको सम्मान गर्ने आलम समर्थकहरुको भनाइ रहेको छ । कानून व्यवसायीहरुको संख्या बढ़ी भएकोले आदेश हुने अवधि बढ़न सक्ने सम्भावना रहेको छ ।