१६ फाल्गुन
रौतहट जिल्लाको गौर भन्सार कार्यालय नजिकबाट सशस्त्र प्रहरीको टोलीले नेपाली रुपैया १० लाख सहित २ जना भारतीय नागरिकलाइ शुक्रवार पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले उक्त रकम सहित भारतको विहार राज्यको सीतामढ़ी जिल्लाको बैरगनिय वड़ा नम्बर १४ निवासी २६ वर्षीय सूरज जायसवाल र २० वर्षीय सनी पटेललाइ पक्राउ गरेको हो । शरीरमा लुकाएर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्णजीत नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेको रकमको विषयमा आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक रोविनराज करनजीतले बताएका छन । दुवै जनाको साथबाट ३ थान मोबाइल बरामद गरिएको छ ।
यस अघि राजदेवी नगरपालिका वड़ा नम्बर ८ स्थित रहेको सशस्त्र प्रहरी बल बीओपी लक्ष्मीपुर बेलविच्छवाका सशस्त्र प्रहरी निरीक्षक अजय थापा नेतृत्वको टोलीले १९ लाख १ हजार नेपाली रुपैया सहित पक्राउ गरेको थियो । एक हप्ता भित्रमा सीमावर्ती क्षेत्रबाट २९ लाख रुपैया पक्राउ पर्नुले हुण्डी कारोवार भइरहेको पुस्टि भएको छ ।
खुल्ला सिमाना भएको कारण भारतीय नागरिकले नेपाली नागरिकको सहयोगमा रकमको कारोबार गर्दै आएको यसबाट प्रस्ट भइरहेको हो ।