रौतहट ।। कोभिड-१९ (कोरोना) संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका रौतहटका ८५ जना पत्रकारको बिमा गरिएइको छ ।नेपाल पत्रकार महासंघ रौतहटका शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागि कोरोना बिमा गराएको हो । माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा रौतहटका ८५ संचारकर्मीका लागि कूल ८५ लाखको बिमा गरिएको हो ।माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्र राय यादवले बिमाको लागि लाग्ने शुल्क बराबरको चेक पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेका छन । चेक हस्तान्तरण कार्यक्रममा माधवनारायण नपाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, नेखा प्रमुख रामबलम यादव लगायतको उपस्थिती रहेको थियो ।
पछिल्लो समय संक्रमितको सँख्या बढ्न थालेपछि रौतहटमा जोखिम बढेको छ । ‘विपतीको समयमा खटिरहेका संचारकर्मीहरुको मनोबल उच्च बनाउन र सुरक्षासमेत प्रदान गर्ने उदेश्यले बिमा शुल्क रकम सहयोग गरेको हौैं,’ मेयर यादवले भने, ‘नेपाल पत्रकार महासंघको अनुरोधमा संचारकर्मीहरुको लागि सहयोग गर्न पाउदा खुशी लागेको छ ।’
नेपाल पत्रकार महासंघसँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बिमा कार्यक्रममा समेटेको पत्रकार महासंघ रौतह शाखाका सचिव गौतम श्रेष्ठले बताए ।
प्रतिव्यक्ति ६ सयका दरले कूल ५१ हजार बिमा शुल्क माधवनारायण नगरपालिकाले सहयोग गरेको उनले बताए ।